यो शहरको कोलाहल भन्दा धेरै टाढा एउटा मरुभूमि छ, मेरो कल्पनाको मरुभूमि, जहाँ म एक्लै यात्रा गर्न रुचाउँछु। धेरैजसो मेरो एक्लोपनको भारि बिसाउन म त्यहिँ पुग्ने गर्छु। मलाई रमाइलो लाग्छ, त्यो बतास संगै उड्ने धुलोका कणहरुसंग खेल्न। म धेरैजसो आफुलाई त्यहि धुलो सँग तुलना गर्छु। सायद त्यो धुलो पनि म जस्तै निरिह थियो, हावाको वेगले जता धकेल्यो उतै हुत्तिने, मलाई समयको वेगले हुत्ताए जस्तै।
म त्यहि धुलोको ढिस्कोमा अडिएर टोलाइरहेको थिएँ। कतैबाट डरलाग्दो हुरी चले जस्तो आवाज आयो अनि म आत्तिएँ। "कस्तो लागि रहेछ?" म झस्किएँ। एउटा अनौठो अनुहार मसँग प्रश्न गरिरहेको थियो। त्यो अनुहार मेरो कुनै परिचित व्यक्तिको थिएन। म र मेरो अतितसँग जोडिएका सबै सम्झनाका पृष्ठभुमिहरु कोट्याउँदा पनि त्यो अनुहार कतै भेट्न सकिन। "तिमि को हौ" मलाई सोध्न मन लग्यो। तर म मौन बसिरहेँ। म त्यही बताससँग मस्कि मस्कि नाचिरहेको धुलोलाई हेरिरहेँ। "किन नबोलेको, भन न कस्तो लागिरहेको छ?" प्रश्न अझ लम्बिएर फेरि दोहोरियो। मलाई रिस उठीसकेको थियो। मैले उतिर हेरेर झर्किएको पाराले भने "तिमि को होउ? म तिमीलाई चिन्दिन, अनि मलाई कस्तो लागि रहेको छ, त्यो जान्ने तिम्रो अधिकार छैन"। म रिसाएको सायद उसलाई थाहा भयो। उसलाई सायद आफुबाट केहि गल्ति भएको अनुभव भयो र निन्याउरो भएर म उभिएकै ठाउँनिर आएर उभियो। म फेरि आफु पहिले हेरीरहेको तिर हेरेर टोलाउन थालेँ र मनमनै सोच्न थालेँ, "सायद मैले अनुभव गर्ने अधिकार गुमाईसकेको छु, किनकि मेरा सपानाहरु अपहरण भएका छन् र तिनलाई छुटाउने शक्ति म मा छैन। त्यसैले म रित्तो महसुस गरिरहेको छु। मेरा इच्छाहरु यो रित्तोपनको गहिराहीमा डुबीसकेकाछन्। अनि म आफुभित्र नै हराईसकेको छु। त्यसैले म आफैलाई खोज्ने प्रयत्न गरिरहेको छु। जुन दिन मैले आफुलाई भेटाउने छु, नयाँ चाहानाहरुले आफैलाई भर्ने छु। म फेरि नयाँ सपनाहरु सजाउने छु। मेरा डुबेका इच्छाहरुलाई फेरि नया जीवन दिनेछु। सायद म त्यति बेला खुशी हुन सक्छु, जब म नयाँ जीवनको अनुभव गर्ने छु र त्यति बेला म सँग त्यो प्रश्नको उत्तर पनि हुनेछ।"
म अलि हलुङ्गो भएर उतिर फर्केँ। त्यहाँ कोहि थिएन। म एक्लै थिएँ। मैले सबैतिर फर्किएर हेरेँ तर टाढा टाढा सम्म एकान्त नै एकान्त मात्र थियो अनि उही बताससँग रमाहिरहेका धुलोका ढिस्काहरु। म उ उभिएको ठाउँ निर गए र उसका पाइलाहरु खोज्ने प्रयास गरे तर म असफल भएँ। त्यो अनकन्टार मरुभूमिमा मसँग केवल मेरो अघिल्तिर लम्पसार परेको एउटा प्रतिबिम्ब मात्र थियो, जुन मेरो आफ्नै थियो। म एकैछिन त्यै मेरै अगाडी ढलेको आकृति हेरेर उभिरहें जुन सायद मेरो पछाडितिर डुब्दै गरेको सुर्यको प्रकाशसँग लुक्न खोज्दै थियो। लामो सास तानेर क्षितिज तिर हेरें अनि बिस्तारै आफैसँग बोलें, "मैले आज आफैलाई भेटाएँ"।
Comments
Post a Comment