काठमाडौंको माछापोखरी बाट बिहानै ६ बजे हिँडेको बस करिब १ बजेतिर हामीलाई स्याफ्रुबेसीमा ओरालेर धूलो उडाउँदै टिमुरे तिर लाग्यो । लाङटाङ खोला त्रिशूलीमा मिसिने स्याफ्रु बेसी बाट लाङटाङ खोलाको तिरै तिर लाङटाङ पदयात्रा सुरु हुन्छ । हामी पनि झोलाको फित्ता र जुत्ताको तुना कसेर लागियो लाङटाङ तिर । केही बेरको कच्ची मोटरबाटो र त्यसपछिको गोरेटो उकालो ओरालो पछि आयो पहिरो । ठाउँको नाम नै पहिरो, सायद ओरिपरी सबैतिर खसेका पहिरोहरुले गर्दा यो ठाउँको नाम नै पहिरो हुन गयो होला । एकैछिन चियापसले शेर्पा दिदीको गफमा भुलेको, माथि गएर बस्ने होटलको मार्केटिङ गरी हालिन् । उकालो चड्दै गर्दा पनि तलबाट भन्दै थिन्, बाबुहरु त्यसमै बस्नुहोला है, अरु त राम्रो छैन । हस् हस् भन्दै लामो सास् फेर्दै फेरि उकालो लागियो । धेरै जसो उकालो र केही ओरालो पछि पुगियो बाम्बो। निगालो धेरै हुने भएर कुनै विदेशीले यो ठाउँको नाम बाम्बाे भनेको हुनु पर्छ । साँझ परिसकेको र यो भन्दा माथि जाने हिम्मत पनि नभएकोले यो रात यतै बस्ने निधो गरियो ।
दोस्रो दिन बिहानै डम्फे रोटी र तरकारी खाएर ७ बजेर ७ मिनेट जाँदा बाटो लागियो। आज को यात्रा कठिन र लामो हुने वाला थियो । तीन घण्टाको निर्दयी उकालो पछि परान फुस्किनै लाग्दा पुगियो लामा होटल । भर्खर १० बज्दै गरेको र खाना खान अलि छिट्टै भएकोले अर्को स्टपमा खाना खाने भन्दै एकछिन चिया खाँदै थकाइ मारियो । लामा होटलमा चिया खाँदै गर्दा एकछिन अगाडि हाम्ले उछिनेको एउटा अष्ट्रेलियन पनि आइपुग्यो । उसले आफ्नो अष्ट्रेलियाको घरमा लगाएको लालीगुराँसको फोटो देखाउँदै आफू पनि अकाउन्टेन्ट भएको र अष्ट्रेलियामा pwc मा काम गर्ने भन्दै गफ लगाउँदै थियो। एकैछिन गफमा भुलेपछि विदेशी लाई आउँदै गर्नु है भनेर फेरी झोलाको फिता कसियो । थकाईका बीच पीडा बिर्सेर खोला छेउमा फोटा खिच्दै अनि जंगलका रुखहरुमा झुण्डीदै यता उता गरेका लंगुरहरु हेर्दै ११ बजे तिर रिभरसाईड पुगियो। खोला कै छेउमा भएको रिभरसाईड होटलमा खाना खानेहरुको लर्को थियो । हाम्ले पनि यहीँ खाना खाइदिम भनेर तीन थाल दालभात अर्डर गरियो । नेपाली र विदेशीहरूले भरिएको रिभरसाइडमा सबैका आफ्नै आफ्नै कथाहरु थिए । छेउमा बसेका मलेसियन टोलीले नेपाल सारै राम्रो भएको भन्दै तारिफ गर्दै थिए । मैले पनि नेपाल र मलेसिया राम्रो साथी भएको र धेरै नेपालीहरु मलेसियामा घुम्न जान्छन् भन्दै गफ दिएँ। हाम्रो खाना टेबलमा नआउँदै अष्ट्रेलियन पनि टुप्लुक्क आइपुग्यो । ऊ हामीलाई भेट्टाएकोमा एक्साइटेड देखिन्थ्यो । उसको गाइडले अर्को टेबलमा बस्ने मेसो गर्दा ऊ भने हाम्रै छेउमा बस्न चाहन्थ्यो र नभन्दै हाम्रै छेउमा आएर प्रिङगल्स खाने भनेर सोध्न थाल्यो । "आज तिमी के खाने?", दुई पिस चिप्स निकाल्दै मैले उसलाई सोधें। "हिजो दालभात खाएको मलाई अचार पनि दिएन, पापड पनि दिएन, आज म दालभात खाँदिन, म थुक्पा खान्छु", ठट्टा गर्दै उसले भन्यो । होटलमा थुक्पा नबन्ने थाहा पाएपछि मनिलो हुँदै दालभात नै खान सहमत भयो । एकैछिनमा खाना आयो । खानामा आज अचार र पापड दुवै चीज आयो र उसको मुहारमा चमक पनि । तरकारीमा आलु मात्रै भएपनि थकाईले गर्दा होला खाना सारै मिठो भयो ।
विदेशी साथी लाई आउँदै गर्नु है भनेर फेरी बाटो लागियो । डरलाग्दा पहिरो, जंगल, साना साना झरना, पुल हुँदै हाम्रो अर्को स्टप थियो घोडातबेला, जहाँ पुग्नु भन्दा अघि फेरी आफ्नो परान समेटेर उकालो चढनु पर्ने थियो । उकालोमा चड्दै गर्दा अघि पछाडि छोडेको अष्ट्रेलियन हाम्रो अगाडि पो भेटियो । एकैछिन बाटो छोडेर खोलामा कालो चस्मा लगाएर पोज दिँदै गर्दा उछिनेको हुनु पर्छ । "यू ओभरटुक अस्", मैले उसलाई जिस्काए । "यू वेर बिजि अन द रिभर", हाँस्दै उसले भन्यो । ऊ सँग विश्व राजनीतिका कुरा गर्दै, छुटिँदै, फेरी भेटिँदै र फोटो खिच्दै जाँदा घोडातबेला पनि पुगियो । त्यसपछि पुग्नु पर्ने थियो थाङस्याप। बिस्तारै जंगलको बाटो हुँदै जाँदा हामी भन्दा अगाडि काठमाडौं युनिभर्सिटीमा डाक्टर पढ्ने केही विद्यार्थी हिँड्दै थिए । टोलीको अन्तिममा एकजना आफ्नो एउटा खुट्टा घिसार्दै हिडी रहेका थिए । साथीहरु निकै अगाडि थिए र उनी पछि पछि । "ब्रो को खुट्टा दुख्यो जस्तो छ", मैले भने । "यो खुट्टा बेन्ड नै गर्न मिलेको छैन" उसको आवाजमा पीडा पनि थियो । परिचय गर्दै जाँदा उनीहरू मेडिकल स्टुडेन्ट भएको थाहा भयो । "अनि डाक्टर जस्तो मान्छे, इन्जुरी को लागि केही ल्याउनु भाको छैन?" मैले सोधेँ। "डाक्टर हैन, विद्यार्थी मात्र हो" उसले जिस्किदै भन्यो । अलि अलि गफ गर्दै अनि पन्ध्र चोटी भारी बिसाउँदै बल्ल तल्ल पुगियो थाङ्स्याप, जहाँ डाक्टर साथीहरुले आफ्नो छुटेको साथी पर्खिरहेका थिए । केटाहरु जीवनजल हालेको पेट्रोल जस्तो देखिने पानी पिउँदै थिए, हामी पनि २ घुट पानी पिएर एकछिन सास् फेरेर लागियो लाङटाङ तिर ।
थाङस्याप पछि अलि अलि उकालो र केही तेर्सो बाटो र हिमालहरूको काखको बाटो हुँदै लाङटाङ भ्यालीको झल्को सुरु हुन्छ । प्रकृति सुन्दर त छ, तर उत्तिकै कठोर पनि छ । २०७२ सालको भूकम्पमा हिमालबाट झरेको पहिरोले पुरै लाङटाङ गाउँ नै पुरेको थियो जसमा नेपाली र विदेशी गरी २०० जाना भन्दा बढीले ज्यान गुमाएका थिए । त्यो पहिरो अहिले पनि उस्तै ताजा छ। पहिलेको गाउँ अहिलेको चिहान बनेको छ, यै चिहानको माथि माथि बाट अहिले घुमन्ते हरु हिँड्छन् । पुरिएको गाउँभन्दा करिब ७०० मीटर पर अहिले नयाँ लाङटाङ गाउँको बस्ती छ । साँझ पर्नै लाग्दा हिउँ पर्दै थियो र करिब साढे पाँच बजे तिर हामी लाङटाङ गाउँ पुगियो र आजको दश घण्टा भन्दा लामो यात्रा यै बिसाउने निधो गरियो ।
तेस्रो दिन बिहानै फेरी डम्फे रोटी खाँदै गर्दा साउनी दिदि तीन जनाले छ ओटा कप जुठो बनाएकोमा खुसी थिइनन्। हामी पनि चुपचाप खाजा खाएर झोलाको भारी त्यहीं छोडेर हिडियो क्यान्जिन गोम्पा तिर । हिजो राती होटलको साउजी दाई ले, झोलाहरु यतै छोडेर क्यान्जिन री घुमेर आउन सकिन्छ भनेर सल्लाह दिएका थिए । त्यै अनुसार झोला मिल्काएर लौरो टेक्दै लाङटाङ भ्याली हुँदै लागियो गोम्पा तिर । तीन घण्टा हिँडे पछि अचानक हिमालको काखमा बसेर आफूलाई अनेक रंगले सिँगारीरहेको एउटा गाउँ आयो जसको नाम थियो क्यान्जिन गोम्पा । वरिपरि हिमाल हरुले सजिएको यो गाउँ निकै रमणीय पनि थियो जहाँ थुप्रै पर्यटकहरू प्रकृतिको आनन्द लिइरहेका थिए । यहाँबाट पर्यटकहरू फरक फरक चुचुरोमा चडेर हिमालहरूको मनमोहक दृश्य हेर्ने गर्छन् । धेरै हिउँ भएको चुचुरोमा चढ्न गाह्रो हुने भएकाले हामी क्यान्जिन-रि तिर चढ्ने विचार गरियो। सोच्न जस्तो सजिलो त्यो उचाइमा पहाड चढ्न हुँदैन। ४४०० मीटर भन्दा बढीको उचाइमा चार खुट्टा र एउटा लौरो टेकेर मुटु लाई हातमा बोकेर जनतन चुचुरोमा पुगियो । देख्दा नजिकै देखिए पनि माथि पुग्न भने दुई जुनी लाग्यो। टुप्पोमा पुग्दा सम्म शरीरका सबै अंगहरुले ठाउँ छोडेजस्तो लाग्छ तर एकछिन मै मनमोहक दृश्यले सबै पीडा बिर्साइदिन्छन्। चारैतिर हिउँले भरिएका विशाल हिमालहरु, हिमताल, हिमनदीहरु देख्दा मन, दिमाग र आँखाले फर्किन मान्दैनन् । मन अघाउन्जेल बसेर फोटो खिचे पछि फर्किने बेला भयो। ठाडो पहाडको बाटो, ज्यानै गुल्टिएर एकैचोटी गोम्पा पुगिने डर हुँदा हुँदै बल्ल तल्ल ओरालो झरियो। गोम्पामा तिखा सिङ्ग भएका चौरीहरुको बीचमा बसेर चिया नास्ता गरिसक्दा ४ बजी सकेको थियो र हाम्लाई रात बिताउन लाङटाङ भ्याली फर्किनु पर्ने थियो ।
क्यान्जिन् गोम्पालाई टाटा गरी फर्किँदै गर्दा बाटोमा फेरी हिउँ पर्न थाल्यो। लाग्थ्यो ससाना हिउँका कपासले हिमाल छोडेर फर्किन लागेका हाम्लाई रिसाएर गाला पड्काउँदै थिए। अलिअलि डर र त्यो भन्दा बढी एक्साइटेड हुँदै रात पर्नै लाग्दा हिजो बसेको होटलमा पुगियो। ए भाइहरू आइपुग्नु भएछ भन्दै साहुजीले हाम्रो ४ नम्बर कोठाको चाबी दिए। होटलमा हामीसँगै केही नेपाली र विदेशीहरु पनि थिए। अगेनाको छेउमा बसेका विदेशी जोडी नेपाल घुम्न आएकोमा खुसी देखिन्थे। उनीहरू इजरायल बाट आएका रहेछन् अर्को कुनातिर बसेको जोडी चाई युके बाट। "आर यू गाइज म्यारिड?", मैले सोधेँ। मेरो प्रश्नमा केटाले अलि असहज माने पनि केटी भने एक्साइटेड भइन्। उनीहरू प्रेमजोडी रहेछन् र केही वर्ष पहिला एउटा पार्टीमा भेट भएका रहेछन्। प्रेमिकाको अनुरोधमा नेपाल घुम्न आएकोमा उनी पनि निकै खुसी थिए। एकैछिन गफ गर्दै खाना खाए पछि उनीहरू सँग बिदा मागेर हामी कोठा तिर लागियो र सबैतिर दुखेको ज्यानलाई हिउँ भन्दा चिसो बिस्तरामा फालियो।
चौथो दिन फेरी बिहानै साहुनीले डम्फे रोटी र चिया टकारिन्। हामी ६ बजे नै निस्किने र खाजा अलि छिटो बनाइदिनु भनेको र खाजा खान ढिला आएकोमा त्यति खुसी थिइनन् साहुनी। "नेपालीहरु सधैं यस्तै गर्छन्, ५ बजे खाजा अर्डर गर्छन्, अनि ७ बजे सम्म नी उठ्दैनन्", उनी आफ्नै सुरमा भुनभुनाउँदै थिइन्। मैले मनमनै सोचें, "साउजी नरम, साउनी गरम, जोडी त मिलेकै हो"। हामी चुपचाप चिया नास्ता गरेर छ हजार तीन सय रुपैयाँ तिरेर बिदा मागिम्। आजको दिन हामी स्याफ्रु पुग्ने हिम्मत गरेर हिडियो। विदेशीहरुलाई हामी एक दिनमै स्याफ्रु पुग्ने भन्दा सरप्राइज हुन्थे। तर सकिन्छ जस्तो लागेर ७ बजेर ७ मिनेट जाँदा फेरी फर्किने बाटो तताइयो। यो दिनको खासै केही याद छैन। स्याफ्रु पुग्दा रात पर्ने हो कि भनेर खच्चड जस्तो एकै सुरमा हिँडियो। माथि निस्किँदा तस्रीफ बिसाएको ठाउँहरू सम्झिदै, उकालो चढ्न लागेका नेपाली र विदेशीलाई हौसला दिँदै फेरी थाङस्याप, घोडातबेला, रिभरसाइड हुँदै लामा होटलमा आएर खाना खाइयो। अनि रिम्चे, बाम्बो, पहिरो हुँदै बेल्का को ७ बज्नै लाग्दा स्याफ्रु झरियो। यात्राकै सबै भन्दा लामो हिँडाइ पछि खासै मेहेनत नगरी पहिरोकी शेर्पा दिदीले भनेको उनको मितिनीको होटलमा गएर झोला र ज्यान फालियो अनि मासुभात खाएर उत्तानो परियो।
पाँचौं दिनको बिहान ज्यानलाई बल्लतल्ल लतार्दै चिया खाने टेबुल सम्म झारियो। त्यै डम्फे रोटी र चिया खाएपछि एकैछिनमा काठमाडौं जाने बस पनि आयो। जता छोए पनि दुख्ने, थाकेर लोत परेको ज्यानलाई घिसारेर बसभित्र हुलियो। "गुलियो जेरी होऊ, तिमी त मेरी होऊ" भन्दै ड्राइभर दाईले धूलो उडाउँदै, स्टेरिङ घुमाउँदै राजधानी तिर बस दौडाए।
Comments
Post a Comment