काठमाडौंको माछापोखरी बाट बिहानै ६ बजे हिँडेको बस करिब १ बजेतिर हामीलाई स्याफ्रुबेसीमा ओरालेर धूलो उडाउँदै टिमुरे तिर लाग्यो । लाङटाङ खोला त्रिशूलीमा मिसिने स्याफ्रु बेसी बाट लाङटाङ खोलाको तिरै तिर लाङटाङ पदयात्रा सुरु हुन्छ । हामी पनि झोलाको फित्ता र जुत्ताको तुना कसेर लागियो लाङटाङ तिर । केही बेरको कच्ची मोटरबाटो र त्यसपछिको गोरेटो उकालो ओरालो पछि आयो पहिरो । ठाउँको नाम नै पहिरो, सायद ओरिपरी सबैतिर खसेका पहिरोहरुले गर्दा यो ठाउँको नाम नै पहिरो हुन गयो होला । एकैछिन चियापसले शेर्पा दिदीको गफमा भुलेको, माथि गएर बस्ने होटलको मार्केटिङ गरी हालिन् । उकालो चड्दै गर्दा पनि तलबाट भन्दै थिन्, बाबुहरु त्यसमै बस्नुहोला है, अरु त राम्रो छैन । हस् हस् भन्दै लामो सास् फेर्दै फेरि उकालो लागियो । धेरै जसो उकालो र केही ओरालो पछि पुगियो बाम्बो। निगालो धेरै हुने भएर कुनै विदेशीले यो ठाउँको नाम बाम्बाे भनेको हुनु पर्छ । साँझ परिसकेको र यो भन्दा माथि जाने हिम्मत पनि नभएकोले यो रात यतै बस्ने निधो गरियो । दोस्रो दिन बिहानै डम्फे रोटी र तरकारी खाएर ७ बजेर ७ मिनेट जाँदा बाटो लागियो। आज को यात्रा कठिन र लामो ह...